नियम ५७
विशेष बिरामी बिदा
(१) सञ्चित भएको घर बिदा र बिरामी बिदा भुक्तान गरिसकेका सैनिक व्यक्ति कुनै ठूलो रोग लागी लामो अवधिसम्म बिरामी परी बिदा नपुग भएमा नियम १०७ बमोजिमको मेडिकल बोर्डको सिफारिसमा निजले बढीमा एक वर्षसम्म विशेष बिरामी बिदा पाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम लगातार विशेष बिरामी बिदा लिने सैनिक व्यक्तिले पहिलो तीन महिनाको पूरा तलब र त्यसपछि छ महिनाको आधा तलब पाउनेछ । त्यसपछिको तलब पाउने छैन ।
(३) उपनियम (१) बमोजिम लगातार एक वर्षसम्म विशेष बिरामी बिदामा बस्दा पनि आफ्नो कर्तव्य पालन गर्न नसक्ने भनी नियम १०७ बमोजिमको मेडिकल बोर्डले ठहर गरेमा त्यस्तो सैनिक व्यक्तिलाई सेवाबाट मुक्त गरिनेछ ।
(४) कर्तव्य पालन गर्दा बिरामी वा घाईते भई सैनिक अस्पताल वा नेपाल सरकारद्वारा मान्यता प्राप्त अन्य अस्पतालमा उपचार गराइरहेका सैनिक व्यक्तिले बिरामी वा घाईते निको नभएसम्म पूरा तलब सहितको अस्पताल विरामी विदा पाउनेछ । त्यस्तो विदा बसेको सैनिक व्यक्ति निको भएपछि पनि नियम १०७ बमोजिमको मेडिकल बोर्डले कर्तव्य गर्न नसक्ने ठह¥याएमा त्यस्तो सैनिक व्यक्तिलाई सेवाबाट मुक्त गरिनेछ ।
(५) कुनै सैनिक व्यक्ति बिरामी परेको भन्ने सम्बन्धमा प्रतिवेदन परेमा बिरामी परेको हो वा होइन भनी जाँच्नको लागि चिकित्सक खटाउन सकिनेछ ।
(६) उपनियम (५) बमोजिम खटिएको चिकित्सकले बिरामी जाँच गरी सो को प्रतिवेदन नियम १०७ बमोजिमको मेडिकल बोर्डमा पेश गर्नु पर्नेछ ।
(७) बिरामी भएको कुनै सैनिक व्यक्तिलाई बिरामी निको भई काम गर्न सक्षम छ भनी उपनियम (५) बमोजिम खटिएको चिकित्सकको सिफारिस भएमा नियम १०७ बमोजिमको मेडिकल बोर्डले अनुमति नदिएसम्म सरकारी काममा लगाउनु हँदैन । तर प्रशासनिक काम गर्न सक्ने भएमा त्यस्तो काममा लगाउन बाधा पर्ने छैन ।